सिन्धुलीको दुई ऐतिहासिक गढी पदमार्गले जोडिने

असार १२, काठमाडौं । नेपालको ऐतिहासिक धरोहरको रुपमा रहेको हरिहरपुर गढी र सिन्धुलीगढी पदयात्रीका लागि जोडिने भएको छ । पर्यटकिय गन्तव्यको रुपमा दुई गढीलाई पदमार्गले जोड्ने योजनाले ऐतिहासिक गढीको संरक्षणसँगै पर्यटकीय गतिविधि बढ्ने भएको छ ।

सिन्धुलीको दुई गढी जोड्ने पदमार्गलाई ‘एकीकरण पदमार्ग’ नाम दिइएको छ । भिजिट नेपाल २०२० मा पदयात्री लैजाने लक्ष्यसाथ नागरिक अभियन्ता, स्थानीय, प्रदेश र सङ्घीय सरकारले समेत पदमार्ग सञ्चालनमा चासो देखाएको छ । जिल्लाको दुई गढीबीचको पद मार्ग ७५ किलोमिटर हुने र ७ दिनमा पुरा गर्न सकिने पदमार्गको अध्ययन र प्रवद्र्धन गरिरहेको समृद्ध सिन्धुली अभियानले जनाएको छ ।

सन् १८२४ मा नेपाल–अङ्ग्रेजबीच युद्धको जीवित इतिहास बोकेको किल्ला जयस्थिति मल्लले बनाएको इतिहासकारहरुले जनाएका छन् । सामरिक महत्वका रूपमा रहँदै आएको सिन्धुलीगढीले नेपाली रणकौशलको इतिहासमा विशेष महत्व राखेको छ ।

त्यस्तै, नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहका गोरखाली सेना र मकवानपुरका राजा दिगबन्धन सेनका सेनाबीच निर्णायक युद्ध बसेरीस्थित हरिहरपुरगढीमा भएको तथा सिन्धुलीगढीमा गोरखाली सेनाले लखेटेपछि भागेका ब्रिटिस सेना बागमतिको किनार पछ्याउँदै पनौती जाने योजनलाई हरिहरपुरगढी किल्लामा तैनाथ गोरखालीले असफल बनाइदिएको इतिहासकारहरूको भनाई छ ।

यसरी सिन्धुली जिल्ला स्थित रहेको दुई ऐतिहासिकगढी पदमार्गको माध्यमबाट जोडिनुले भिजिट नेपाल २०२० लाई टेवा पुर्‍याउने देखिन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा दिपक श्रेष्ठले लेखेका छन् ।

Facebook Comments