करिश्मा प्रचण्डसँग नजिकिइन्, नेकपा प्रवेश गर्दै

काठमाडौं । चर्चित अभिनेत्री तथा तत्कालिन नयाँ शक्ति, पार्टी नेपालकी केन्द्रीय सदस्य करिश्मा मानन्धरले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छिन् । बाबुराम भट्टराईसँग राजनीतिक सम्बन्ध अन्त्य गरेकी करिश्माले अन्ततः बाबुरामकै पुराना सहयात्री प्रचण्डसँग सम्बन्ध विस्तार गरेकी छिन् ।

नयाँ शक्तिमा सुरुवातदेखि नै लागेकी करिश्माको राजनीतिक मोह त्यतिबेला भंग भयो, जतिबेला उनले नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालबीच एकता भएर गठन भएको नयाँ पार्टी समाजवादी पार्टी, नेपालमा कुनै भूमिका पाइनन् । बाबुरामले पनि करिश्मालाई जिम्मेवारी दिलाउन मरिहत्ते गरेनन् ।

त्यही भएर मानन्धर बाबुरामसँग चिढिएको कुरापनि बाहिर आएको थियो । तर, बाबुरामले भने करिश्माले साथ छोडेकोमा कुनै पछुतो मानेका छैनन । बरु, खुशी नै व्यक्त गरेका छन् ।

हालैमात्रै एसइइ उत्तीर्ण भएकी नायिका करिश्माको धोको भनेको मास्टर्सदेखि पिएचडी गर्नेसम्मको रहेको छ । उनी पुनः राजनीतिमा सक्रिय हुनेछिन् । प्रचण्डसँगको भेटवार्तापछि करिश्मा नेकपामा प्रवेश गर्ने निश्चित प्रायः भएको स्रोतको दाबी छ ।

Facebook Comments